काठमाडौं - दक्षिण कोरियाले भोटेकोशी बाढीपछि नेपालमा हुने पुनर्निर्माणका प्रयासमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

आइतबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका परराष्ट्रमन्त्री चो ह्युनबीच भएको भेटवार्तामा कोरियाली पक्षले पुनर्निर्माणमा सघाउने इच्छा व्यक्त गरेको हो।

भेटवार्तामा गत अगस्ट २६ मा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि भइरहेको खोज, उद्धार तथा राहत कार्यका साथै बेपत्ता कोरियाली नागरिकको खोजीबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्री खनालले बाढी प्रभावित क्षेत्रमा कोरियाली विपद् राहत टोली र अन्तरनिकाय र्‍यापिड रेस्पोन्स टोली परिचालन गरेकोमा दक्षिण कोरिया सरकारप्रति आभार व्यक्त गरेका थिए।

मानवीय सहायता र राहत सामग्री उपलब्ध गराएकोमा धन्यवाद दिँदै मन्त्री खनालले आगामी दिनमा विपद् प्रतिरोधी, दिगो तथा बलियो पूर्वाधार निर्माणलाई नेपाल सरकारले प्राथमिकतामा राखेको बताए। यसका लागि कोरियाबाट निरन्तर सहयोगको अपेक्षासमेत उनले व्यक्त गरे।

जवाफमा कोरियाली परराष्ट्रमन्त्री चो ह्युनले विपद्पछिको पुनर्निर्माणमा नेपाललाई सहयोग गर्न कोरिया सरकार तयार रहेको बताए।

जलवायु परिवर्तनका कारण नेपालजस्ता मुलुकले भोग्नुपरेको क्षतिका विषयमा विश्व समुदायको ऐतिहासिक जिम्मेवारी रहेको उल्लेख गर्दै उनले कोपलगायत विश्वव्यापी मञ्चमा यसबारे अन्य देशलाई सचेत गराउन नेपाल र कोरियाले सहकार्य गर्नुपर्नेमा जोड दिए।

नेपालले अन्तर्राष्ट्रिय समुदायबाट पाउनुपर्ने आर्थिक सहयोगका विषयमा दक्षिण कोरियाले समेत आफ्नो तर्फबाट आवाज उठाउने प्रतिबद्धता मन्त्री ह्युनले व्यक्त गरे।

भेटवार्ताको अन्त्यमा दुवै मन्त्रीले लामो समयदेखिको मित्रता, आपसी विश्वास र सहकार्यमा आधारित नेपाल–दक्षिण कोरिया सम्बन्धलाई थप सुदृढ गर्दै नयाँ उचाइमा पुर्‍याउन मिलेर काम गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन्।

दक्षिण कोरियाका परराष्ट्रमन्त्री ह्युन तीनदिने नेपाल भ्रमणका क्रममा काठमाडौंमा छन्।