पदीय आचरणको उल्लंघन गरेको भन्दै न्यायाधीश सिंह बर्खास्त
काठमाडौं - न्यायपरिषद्ले पदीय आचरणको गम्भीर उल्लंघन गरेको भन्दै विराटनगर उच्च अदालतका न्यायाधीश उमेशकुमार सिंहलाई बर्खास्त गर्न सिफारिस गरेको छ ।
न्यायपरिषदको हिजो बसेको बैठकले ३३ किलो सुन प्रकरण र सनम शाक्य हत्या प्रकरणका अभियुक्तको निवेदनमाथि सुनुवाइका क्रममा पदीय आचरण अनुसारको कर्तव्य निर्वाह नगरेको भन्दै न्यायाधीश सिंहलाई बर्खास्त गर्न सिफारिस गरेको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले बताए ।हामीसँग कुरा गर्दै उनले परिषदले ६ महिना लगाएर गरेको अनुसन्धानपछि कारबाहीको सिफारिस गरेको र परिषद्को निर्णय प्रधानन्यायाधीशमा गएपछि कार्यान्वयन प्रक्रिया अघि बढ्ने बताए ।
सोही मुद्दामा सुनुवाइ गरेका विराटनगर उच्च अदालतकै न्यायाधीश साधुराम सापकोटा र थीरबहादुर कार्कीको बढुवा दुई वर्षका लागि रोक्न पनि परिषद्ले सिफारिस गरेको छ ।
न्यायाधीश ईश्वर खतिवडाको एकल समितिले प्रारम्भिक छानविन गरी विस्तृत छानविन गर्न सुझाव दिएपछि तीनजना न्यायाधीशको समिति बनेको थियो ।
न्यायाधीश विश्वम्भर श्रेष्ठ, केदार प्रसाद चालिसे र मिरा खड्काको समितिले छानविनपछि दिएको प्रतिवेदनका आधारमा परिषदले मुख्य न्यायाधीश कुलरत्न भुर्तेल सहित ३ जनालाई ध्यानाकर्षण गराउने निर्णय गरिसकेको छ ।
३३ किलो सुन प्रकरण र सनम हत्यासम्बन्धी मुद्दामा मोरङ जिल्ला अदालतले पुर्पक्षका लागि धरौटी मागेको र थुनामा पठाएका अभियुक्तलाई यी न्यायाधीशहरूले धरौटी र तारेखमा छोडेको भन्दै न्याय परिषदले छानबिन अघि बढाएको थियो ।
फेसबुक पेज Like गर्नुहोस