गम्भीर प्रकृतिका संक्रमितलाई मात्रै अस्पताल भर्ना गरिने स्वास्थ्यमन्त्रीको भनाई
काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अब गम्भीर प्रकृतिका कोरोना संक्रमितलाई मात्रै अस्पताल भर्ना गरिने बताएका छन् । बुधबार चु जी फाउण्डेशनले उपलब्ध गराइएका भेन्टिलेटरसहितका सामग्री बुझ्दै मन्त्री ढकालले उक्त कुरा बताएका हुन् ।
नेपालमा पछिल्लो समय संक्रमितको दर बढेको कारणले गर्दा अतिसंवेदनशिल बिरामीलाई मात्रै अस्पतालमा उपचार गरिने उनको भनाई छ । उनले भने, ‘सामान्य लक्षणसमेत देखा नपरेका संक्रमितलाई क्वारेन्टाइन वा आइसोलेसन सेन्टरमा उपचार गर्छौं।’
मंगलबार संक्रमितको संख्या २ हजार नाघेको छ । तर, यस अवस्थासम्म पनि कतिपय संक्रमितहरुले सेवा नपाइरहेको समाचार सुनिएको छ । प्रभावकारी नमानिएको आरडीटी विधिको परीक्षण रोकिएको छैन ।
बुधबार अन्तर्राष्ट्रिय बौद्ध संस्था चु जी फाउण्डेशनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ३० वटा भेन्टिलेटर सहयोग गरेको छ। कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएका विरामीहरुको उपचारका लागि सहयोग पुर्याउने उद्देश्यसहित चु जी फाउण्डेशन ले हेल्थ इन्भायोरोमेन्ट एण्ड काइभेट एक्सन फाउन्डेशन ‘हेकाफ ३६०’ मार्फत सरकारलाई ३० वटा जीवनरक्षक भेन्टिलेटर उपलब्ध गराएको हो । यसबाहेक पिपिई, पञ्जा, गाउन, मास्क, इन्फ्रारेड थर्मोमिटर, सेफ्टी ग्लास लगायतका अत्यावस्यक स्वास्थ्य सामग्रीसमेत उपलब्ध गराएको हेकाफका अध्यक्ष महेश नकर्मीले बताए। उनले कुल १ करोड ७० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको बताए।
फेसबुक पेज Like गर्नुहोस