एजेन्सी - संयुक्त अरब इमिरेट्स(युएई)मा समेत कोरोना भाइरसको संक्रमण देखिएको छ । युएईको स्वास्थ्य मन्त्रालयले बुधबार कोरोना भाइरसको संक्रमण देखिएको बताएका हो । चीनको वुहान शहरबाट आएको युएईको एक परिवारका सदस्यमा कोरोना भाइरसको संक्रमण देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

खाडी मुलुक युएईमा पहिलो पटक नयाँ भाइरसबाट संक्रमित बिरामी फेला परेका हुन् । तर वुहानबाट आएको परिवारका कतिजनालाई भाइरसले संक्रमण गरेको छ भनेर केही खुलाइएको छैन । कोरोना भाइरसबाट संक्रमितको अवस्था स्थिर रहेको र मेडिकल निगरानीमा राखिएको युएईको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

युएईका दुबई र अबुदबी विमानस्थल विश्वकै व्यस्त विमान स्थलमा पर्छन् । गत हप्ता विमानस्थलका अधिकारीहरूले चीनबाट आउने यात्रुलाई विमानस्थलमा नै परीक्षण गरिने बताएका थिए । पूर्व सावधानी र सतर्कता अपनाउन भन्दै उक्त कदम चालिएको हो ।

कोरोना भाइरस फैलिने संत्रास बढेपछि चीनतर्फ हुने हवाइ उडानमा समेत युएईले कटौती गरेको छ । दुबईको डिपी वर्ल्ड कम्पनीले आफ्ना कर्मचारी/कामदारलाई चीनको भ्रमण नगर्न भनेको छ । कोरोना भाइरसबाट हालसम्म चीनमा १३२ जनाको मृत्य भइसकेको छ । त्यस्तै झण्डै ६ हजार व्यक्ति भाइरसबाट संक्रमित बनेका छन् ।