काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)भित्र देखिएको विवाद निरूपण गर्न निर्वाचन आयोगले इजलास गठन गरेको छ।

आयोगको आज बसेको बैठकले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको हो । इजलासमा प्रमुख निर्वाचन आयुक्त थपलियासहित आयुक्तहरू ईश्वरी पौड्याल, रामप्रसाद भण्डारी, जानकी तुलाधर र सगुन समशेर जवरा छन् । 

अब आयोगले आगामी साउन ३ गतेबाट सुनुवाइ सुरु गर्ने भएको छ । त्यसका लागि आयोगले आजै पार्टीका दुवै पक्षलाई कानुन व्यवसायी मुकरर गर्ने भए गरेर पठाइदिन भन्दै पत्राचार गरेको छ । 

अध्यक्ष महन्थ ठाकुर पक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएपछि जसपा फुटको संघारमा पुगेको हो । त्यसपछि अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले राजनीतिक दल सम्बन्धी ऐन ४३ र ४४ बमोजिम पार्टीको आधिकारिकतामा दाबी गर्दै आयोगमा निवेदन दिएको थियो । यादव पक्षको दाबीपछि आयोगले ठाकुर पक्षलाई १५ दिनभित्र जवाफ दिन भनेको थियो । ठाकुर पक्षले जवाफ दिएपछि आयोगले आपसी सहमति बमोजिम विवाद निरुपण गर्ने प्रयोजनका लागि मंगलबार खुवै पक्षलाई बोलाएको थियो ।

तर, छलफलमा दुवै पक्षले आआफ्नो दावी कायम राखेर आयोगलाई मिल्न नसक्ने र  राजनीतिक दल सम्बन्धी कानुन अनुसार आधिकारिता दिन गरेका थिए ।