काठमाडौं - नेपाली कांग्रेसले तराई मधेशमा घटेका घटनाको न्यायिक समिति बनाएर स्वतन्त्र, निष्पक्ष ढङ्गबाट छानबिनको माग गर्ने निर्णय गरेको छ।

आज बसेको संसदीय दलको बैठकले गम्भीर घटना भएकाले सत्य-तथ्य सार्वजनिक गरेर कानुन बमोजिम दोषीलाई कारबाहीको माग गर्ने निर्णय भएको महामन्त्री प्रदीप पौडेलले बताए।

उनका अनुसार यो विषयलाई कांग्रेसले प्रतिनिधि सभा र राष्ट्रिय सभामा पनि उठाउनेछ।

उनले भने, ‘न्यायिक छानबिन समिति आजको हाम्रो मुख्य प्रस्ताव हो। त्यो प्रस्तावलाई प्रतिनिधि सभा र राष्ट्रिय सभामा उठाउने पार्टीको तर्फबाट उठाउनुहुन्छ। अरू विपक्षी दलहरूसँग पनि त्यसका छलफल हुन्छ।’

कांग्रेसले सांसदले स्वकीय सचिव राख्ने विषयमा पनि निश्चित मापदण्ड बनाउन माग गरेको छ।