काठमाडौं - मानव अधिकारवादी संस्थाहरुले राजावादीहरुको प्रदर्शनका क्रममा चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक घटनाको न्यायिक छानबिन गर्न माग गरेका छन् ।

जवाफदेहिता निगरानी समिति, एम्नेष्टी इन्टरनेशनल नेपाल, एड्भोकेसी फोरम नेपाल र न्याय तथा अधिकार संस्था (जुरी–नेपाल)ले संयुक्त विज्ञप्तिमार्फत न्यायिक जाँचबुझको माग गरेका हुन् ।

तीनकुने घटनामा प्रहरीले अत्यधिक बल प्रयोग गरेको विवरणहरु सार्वजनिक भएको भन्दै उनीहरुले त्यसमा गम्भीर चासो व्यक्त गरेका हुन् ।

घटनामा ५८ राउण्ड गोली चलेको, २० जनालाई गोली लागेको, गोलीकै कारण सविन महर्जनको ज्यान गएको, घाइतेमध्ये १३ जनाको उपचार भइरहेको विवरणमाथि उनीहरुले चिन्ता व्यक्त गरेका हुन् ।

प्रहरीले तयार पारेको गोप्य प्रतिवेदन उदृत गर्दै सञ्चारमाध्यमहरुले करिव साढे ७ सय सेल अश्रुग्याँस प्रहार गरेको र १९८ राउन ब्ल्यांक राउण्ड फायर भएको विवरण सार्वजनिक भएको भन्दै उनीहरुले घातक हतियारहरुको प्रयोगमा समेत प्रश्न उठाएका हुन् ।

घटनामा ११० राउण्ड गोली चलाएको थियो भने दुई सय राउण्ड रवरको गोली चलेको थियो । त्यसबाहेक नेपाल प्रहरी र शसस्त्रले साढे ९ सय राउण्ड गोली चलाएका थिए । एसएलआर र इन्सासजस्ता घातक हतियारको समेत प्रयोग भएको औल्याउदै उनीहरुले प्रहरीको बल प्रयोगमाथि प्रश्न उठाएका हुन् ।

उनीहरुले विज्ञप्तिमार्फत भनेका छन्–‘घटनाका सम्बन्धमा उजागर हुँदै गएका तथ्यहरू हेर्दा प्रहरीबाट गरिएको बल प्रयोग ‘आवश्यक’ र ‘समानुपातिक’ थियो भनेर विश्वास गर्न र गृह प्रशासनलाई शंकाको सुविधा दिन सकिने अवस्था देखिँदैन ।’

विज्ञप्तिमा थप भनिएको छ–‘बल प्रयोग, त्यसको दुष्परिणाम, साथै पत्रकार सुरेश रजकको रहस्यमय मृत्यु र प्रदर्शनकारीबाट भए गरिएका हिंसात्मक कार्यहरूको निष्पक्ष तथा स्वतन्त्र न्यायिक छानबिन अत्यावश्यक देखिएको छ । नागरिकको सुरक्षाको आशा र भरोसाको केन्द्रमा रहेको प्रहरी संगठन तथा गृह प्रशासनको विश्वसनीयता क्षयीकरण हुन नदिन पनि यस्तो स्वतन्त्र छानबिन अत्यावश्यक भएको छ ।’