बाजुरा - बाजुरामा ट्याक्टर दुर्घटनामा परी घाइते भएका दुई जनालाई नेपाली सेनाले हवाई उद्धार गरी थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्याएको छ ।
मंसिर १२ गते बाजुराको जगन्नाथ गाउँपालिका–३ स्थित मनिकाँडामा पिलुचौरबाट मनिकाँडातर्फ जाँदै गरेको सुपप्र ०१–००२ त ४६८७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको थियो भने चार जना घाइते भएका थिए ।
दुर्घटनामा जगन्नाथ गाउँपालिका–३ मनिकाँडाका ४५ वर्षीय धनरुप शाही, ३५ वर्षीय धर्म शाही र ५२ वर्षीया नामसरा देवी शाहीको मृत्यु भएको थियो ।
दुर्घटनामा सोही ठाउँका ४० वर्षीय बिउरा ओड, ४५ वर्षीया सिद्धा ओड, २२ वर्षीया सङ्गीता शाही र ट्याक्टर चालक २१ वर्षीय नवीन बोहरा घाइते भएका थिए ।
अनियन्त्रित भएको ट्याक्टर सडकबाट करिब पाँच सय मिटर तल खसेको थियो ।
नेपाली सेनाका अनुसार घाइते चार जनामध्ये कोल्टी अस्पतालमा उपचाररत दुई जनालाई थप उपचार आवश्यक भएपछि सेनाको हवाई साधनमार्फत कर्णाली प्रदेश अस्पताल लगिएको हो ।

.gif)


