काठमाडौं - स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले पिसिआर परीक्षणको दायरा बढाउने बताएका छन् ।

सोमबार प्रतिनिधिसभामा आगामी आवमा स्वास्थ्य मन्त्रालयअन्तर्गत विनियोजित बजेटका विषयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै स्वास्थ्य मन्त्री ढकालले असार १५ बाट प्रत्येक दिन १० हजारको संख्यामा पिसिआर परीक्षण गर्ने बताएका हुन् ।

‘दिनप्रतिदिन संक्रमितको संख्या बढिरहेको छ,' उनले भने 'सरकारले सातवटै प्रदेशमा पीसीआर परीक्षण गर्ने ठूला मेसिन खरिद गर्न प्रक्रिया अघि बढाएको छ । हामी  असार १५ बाट प्रत्येक दिन १० हजारको पिसिआर रिर्पोट दिने गरी तयारीमा लागेका छौँ ।’ आरडिटी परिक्षणलाई संक्रमण पत्ता लगाउन नभई स्क्रिनिङको लागि मात्र प्रयोग गरेको पनि उनले बताए ।

मृत्युपछि कोरोना पुष्टि भएको विषयमा उनले भने, ‘जुनसुकै कारणले मान्छेको मृत्यु भएपनि मृतकको शरीरमा कोरना भाइरसको संक्रमण थियो भने उसको सम्पर्कमा रहेका परिवारका सदस्यहरु तथा उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुको कन्ट्रयाक ट्रेसिङ गर्ने प्रयोजनका लागि तथा शब व्यवस्थापनमा सावधानी अपनाउनका लागि पनि मृत्यु पश्चात कोरोना टेष्ट गर्नुपर्ने आवश्यकता छ ।’

हालसम्म पीसीआर विधिबाट १ लाख ९ सय ७१ जनाको नमुना परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ६६ जनाको परीक्षण गरिएको छ । नेपालमा हालसम्म ३ हजार ७ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा १४ जनाले ज्यान गुमाइसकेका छन् भने ४ सय ८८ जना नको भएका छन् ।