विभत्स हत्या गरिएको अवस्थामा वृद्ध-वृद्धाको शव फेला
खोटाङ - जन्तेढुंगा गाउँपालिका–४, डम्वर्खुशिवालयस्थित सामाताङमा दुई वृद्ध-वृद्धाको विभत्स हत्या गरिएको अवस्थामा शव फेलापरेको छ ।
जंगलनजिकै घर भएका ७७ वर्षीय इन्द्रबहादुर श्रेष्ठ र उहाँकी ६७ वर्षीया बहिनी गोपीमायाको शव उनीहरुको आफ्नै घरमा फेलापरेको हो ।
दाजु-बहिनीको मृत्यु भएको जानकारी आएलगत्तै जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाको टोली घटनास्थल पठाइएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए। घटनास्थल छिमेकी भोजपुरको सिमानामा पर्छ ।
घटनाको प्रकृति हेर्दा तीन-चार दिनअगाडि हत्या भएको अनुमान गरिएको घटनास्थल पुग्नुभएका प्रनाउ चिमरियाले बताए ।
‘यही भदौ १७ गते दिउँसो साढे ४ः०० बजेसम्म उनीहरु काम गरिरहेको आफन्तले देखेका रहेछन्’-उनले भने-‘अहिले अनुसन्धान जारी छ । विस्तृत जानकारी अनुसन्धानपछि प्राप्त हुन्छ ।’
घटनास्थलमा फोन सम्पर्क नहुने भएकाले विस्तृत जानकारी प्राप्त गर्न कठिन भएको प्रजिअ पौडेलले जानकारी दिए । घटनास्थल जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट करिब ३० कोस टाढा छ ।
एकान्तमा घर भएका उनीहरुको हत्या लुटपाट गर्ने समूहले गरेको हुनसक्ने अनुमान गरिएको गाउँपालिका प्रमुख शंकरबहादुर राईले बताए ।
‘अविवाहित दाजु इन्द्रबहादुर शारीरिक अपांगसमेत रहेकाले उनको हेरचाह गर्न बहिनी गोपीमाया केही समयअगाडिदेखि माइतीघरमै बसेकी रहिछन्’-उनले भने-‘उदयपुरको रामपुर घर भएकी गोपीमाया खानदानी परिवारका रहेकाले सम्पत्तिको लोभमा उनीहरुको हत्या भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।’
स्थानीय हाटबजारमा किराना सामानको व्यापार गर्दै आएका इन्द्रबहादुरको घरमा अहिलेपनि किराना पसल रहेको जनाइएको छ ।दाजु-बहिनीको शव परीक्षणका लागि उदयपुरको गाईघाट पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस