जलेश्वर - महोत्तरीको एकडारा गाउँपालिका–२ स्थित धानखेतमा शनिबार घाँटी थिचेर हत्या गरिएको अवस्थामा एक युवकको शव बरामद भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीकाअनुसार राजकिशोर बैठाका छोरा अन्दाजी वर्ष १७-१८ विकेश बैठाको हत्या गरिएको अवस्थामा धानखेतमा शव पाइएको हो ।

बैठाको घाँटी थिचेर हत्या गरी फालिएको अवस्थामा शनिबार बिहान करिब ९ः०० बजेतिर वनमा घाँस काट्न गएका महिलाले देखेपछि गाउँमा होहल्ला गर्दै जाँदा गाउँलेले प्रहरीलाई खबर गरेका प्रहरी उपरीक्षक अधिकारीले बताए ।बेला गाउँदेखि भंगहिया गाउँ जाने बाटोमा पर्ने फेकन महासेठको धानखेतको बीचमा शव फेलापरेको हो । बैठालाई अत्यधिक बलपूर्वक घाँटी थिचेका कारण दुवै आँखा बाहिर निस्केको अवस्थामा शव फेलापरेको हो ।

गाउँमा दुईरतीन दिनदेखि दाहा मेला लागेका अवस्थामा शुक्रबार राति केही व्यक्तिले युवक बैठालाई फोन गरी मेला हेर्न बोलाएका थिए ।

तर, अबेर रातिसम्म उनी फर्केर घर नआएपछि गाउँभरि र आफन्तकामा उनको परिवारजनले खोजी गरे पनि कुनै पत्तो लागेको थिएन भने शनिबार बिहान उनको हत्या गरिएको अवस्थामा शव फेलापरेको उनका दाजु मुकेश बैठाले बताए । प्रहरीले हत्या गरिएका युवकको शवको स्थलगत मुचुल्का तयार गरी अहिले शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर पठाएको प्रहरी उपरीक्षक अधिकारीले बताए ।