बुद्धका मूर्ति तोडफोड गर्नेलाई कारवाही गर्न कांग्रेसको माग
काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले तिलोत्तमा नगरपालिकामा बुद्धका मूर्तिहरु तोडफोड भएकोमा आपत्ति जनाएको छ ।
बिहीबार कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले विज्ञप्ति जारी गर्दै बुद्धको मूर्ति तोडफोड गर्ने कार्यको भत्र्सना गरेका हुन् ।
‘गौतमबुद्धको मूर्तिहरुलाई तोडफोड गर्नु धर्म, संस्कृति र मूल्यमान्यताको अपमान हो’ खाँडले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘यसरी धार्मिक, सांस्कृतिक सहिष्णुतामा आँच आउने र धार्मिक द्वन्द्वलाई निम्त्याउने गरी नियोजित रुपमा बुद्धको मूर्तिलाई तोडफोड गर्ने कार्य अत्यन्त निन्दनीय एवं घोर आपत्तिजनक छ ।’
त्यस्तै कांग्रेस संसदीय दलले घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कानूनी कारवाही गर्न माग गरेको छ ।
बुधबार राति सिद्धार्थ राजमार्गको बटुवल बेहहिया सडक खण्डको बीच भागमा रहेका बुद्धका मूर्ति तोडफोड गरिएको थियो । मूर्ति तोडफोडमा संलग्न व्यक्तिको अझै पहिचान हुन सकेको छैन । मूर्ति कसले तोडफोड गर्यो भनेर प्रहरीले अनसन्धान थालेको छ ।
फेसबुक पेज Like गर्नुहोस