बागलुङमा स्वाव परिक्षण शुरु
बागलुङ - कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको बागलुङमा स्वाव परिक्षण शुरु भएको छ । धौलागिरी अस्पताल र जिल्ला स्वास्थ्य कार्यालयको टोलीले बरेङस्थित जनता प्रावि र सर्वोदय माविको क्वारेन्टाइनमा रहेका आठ जनाको नमूना संकलन गरेका हुन् ।
नेपाल भारत सिमाको गौरीफन्टा नाका हुँदै आएका कैलालीका एक युवामा कोरोनाको संक्रमण पुष्टि भएपछि उनीसँगै बागलुङ भित्रिएकाको नमूना संकलन थालिएको हो ।
संकलन गरिएको स्वाब परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पठाइएको छ । त्यस्तै धौलागिरी अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमित युवती र महिलाको स्वाव पुन नमुना परिक्षणको लागि पठाउने तयारी गरिएको छ ।
यसअघि बागलुङमा १८ जनाको स्वाव परिक्षण भइसकेको छ । परिक्षण गरिएकामध्ये २ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने १६ जनाको नेगेटिभ देखिएको छ ।
पोजेटिभ देखिएका दुबैको धौलागिरी अञ्चल अस्पतालको आइसोलेसन कक्षमा उपचार भइरहेको छ । बाँकी १६ जनाको रिपोर्ट नेगेटिभ आएपनि उनीहरुलाई होम क्वारेन्टाइनमा बसिरहेका छन् ।
फेसबुक पेज Like गर्नुहोस