काठमाडौं - नेपाली कांग्रेसको १४ औं महाधिवेशन नियमित समयमा नहुने देखिएको छ । केन्द्रीय समितिमा स्पष्ट बहुमतमा रहेकाले सभापति शेरवहादुर देउवाको कार्यकाल एक वर्ष थप्नबाट रोक्ने सक्ने अवस्था पनि देखिंदैन । यसले गर्दा पनि फागुनमा गर्नु पर्ने महाधिवेशन लम्बिने देखिएको हो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको चार वर्षे कार्यकाल आगामी फागुनमा सकिँदै छ ।तर, संस्थापन पक्ष नियमित समयमा महाधिवेशन गर्न अनिच्छिुक देखिएको आरोप इतर समूहले लगाएको छ ।

फागुनमा नियमित महाधिवशेन हुनुपर्ने भए पनि त्यसका लागि कांग्रेस सामु थुप्रै चुनौती देखिएका छन् ।कांग्रेसमा अधिवेशन ७७ जिल्ला र केन्द्रमा मात्र समिति छन् । संशोधित विधानले कांग्रेसको वडादेखि केन्द्रसम्म गरी आठ तहको संरचना हुने व्यवस्था गरेको छ ।

जसअनुसार टोल, वडा, गाउँ र नगर, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रमा पार्टी संरचना हुनुपर्छ ।यी संरचनाको टुंगो नलागि महाधिवेशन हुने सम्भावनासमेत नदेखिँदा संस्थापन पक्षले त्यसको तयारी नगरेको इतर समूहको आरोप छ ।अब संस्थापन पक्षले चाहेर पनि आगामी फागुनमै महाधिवेशन हुने सम्भावना नरहेको कांग्रेसकै नेताहरु बताउँछन् ।

क्रियाशील सदस्यता वितरण र नवीकरण गर्ने संरचना नभएकाले कांग्रेसले चाहेर पनि नियमित समयमा महाधिवेशन गर्न सक्ने अवस्था नदेखिएको हो ।

महाधिवेशनमा जानका निम्ति क्रियाशील सदस्यता वितरण र नवीकरणका लागि वडा समितिले सिफारिस गर्नुपर्छ ।तर सदस्यता वितरण र नवीकरण गर्न तलको संरचना निर्माण नहुँदा अब चाहेर पनि नियमित समयमा महाधिवेशन हुन नसक्ने अवस्था देखिएको कांग्रेस केन्द्रीय सदस्य प्रदिप पौडेल बताउँछन् ।संस्थापन इतर समूहले नियमित समयमै महाधिवेशन गर्न सभापति देउवालाई दबाब दिँदै आएको छ ।

केन्द्रीय महाधिवेशन हुनुअघि सात वटा तहको अधिवेशन गर्नुपर्ने र ती अधिवेशन गर्न कम्तिमा तीन महिना लाग्ने भएकाले समयावधिभित्रै महाधिवेशन हुन नसक्ने बुझाइ नेताहरुको छ ।

नियमित समयमा गर्न नसकिने भए पनि त्यसको तयारी भने थालिहाल्नुपर्ने सो समूहको भनाइ छ ।महाधिवेशनको तयारीका लागि तत्काल तल्लो तहको संरचना निर्माण सुरु गरिहाल्नुपर्ने पौडेलको धारणा छ ।

उनले नेतृत्व तहले यसरी ढिलासुस्ती भईरहँदा नेतृत्वमाथि आशंकाको वातावरण रहिरहने बताए ।कांग्रेसले आगामी भदौ पहिलो साताभित्रै पार्टी संगठनलाई संघीय संरचनाअनुरुप विस्तारको तयारी गरेको छ ।

आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा भदौ पहिलो साताभित्रै निर्वाचन प्रक्रियामार्फत् पार्टी संगठनलाई संघीय संरचनाअनुरुप विस्तार गर्ने बारे छलफल भएको थियो ।असार २७ गते बस्ने बैठकले विधानअनुसार अन्तरिम अधिवेशनमा जाने निर्णय गर्ने नेताहरु बताउँछन् ।