काठमाडौं - सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दैनिक ज्यालादारी गरी जीवनयापन गर्दै आएका जनतालाई आवश्यक खाद्यान्न तथा विशेष राहत प्याकेज घोषणा गर्न माग गरेका छन् ।

शनिबार एक भिडिओ सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने, न्यून वर्गीय जनताको खाद्यान्नलगायत व्यवस्थापनमा सरकारको विशेष सहयोग प्याकेज घोषणामा ध्यान जाने बताएका हुन् ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को जोखिमलाई मध्यनजर गर्दै त्यसको रोकथामका लागि नेपाल सरकारले  जारी गरेको 'लकडाउन' का बेला अध्यक्ष प्रचण्डले अअ लागि खाद्यान्नलगायत राहत प्याकेज ल्याउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले स्वास्थ्यकर्मी, सुरक्षाकर्मीले गर्दै आएका कामप्रति धन्यवाद दिँदै उनीहरुको मनोबल बढाउने प्रेरणामा जोड दिन आवश्यक रहेको बताएका छन् । ‘महामारीको लडाईँको अग्रमोर्चामा रहेर जोखिम उठाउने चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मनोबल उच्च राख्न आवश्यक उत्प्रेरणा सुरक्षा तथा सातै प्रदेशमा उपकरणहरुको व्यवस्थामा राज्यको तर्फबाठ थप जोड दिन आवश्यक छ’ उनले भने ।

अध्यक्ष प्रचण्डले लकडाउनका बेला घरबाहिर ननिस्कन पनि आग्रह गरेका छन् । उनले भनेका छन्, ‘लकडाउनका बेला घरमै बसेर आफू र परिवारको जीवन रक्षा गर्न म अपिल गर्दछु ।’