काठमाडौं - सरकार र अनसनरत डा. गोविन्द केसी पक्षबीच आज वार्ता हुँदैछ । वार्ता अपराह्न ४ बजेपछि गर्ने तयारी रहेको छ ।

सरकारी टोलीका संयोजक शिक्षा सचिव गोपीनाथ मैनाली दिउँसो २ देखि ४ बजेसम्म हुने सार्क मन्त्रीस्तरीय बैठकमा सहभागी हुनुपर्ने भएकाले त्यसपछि वार्ता गर्ने तयारी छ ।

स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै अनसन बसेको २४ औँ दिनमा सरकारले बुधबार शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजत्वकमा वार्ता टोली गठन गरेको थियो ।

टोलीमा स्वास्थ्य मन्त्रालयका सहसचिव डाक्टर गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डाक्टर दिलीप शर्मा सदस्य छन् । यता, डा. केसीपक्षबाट डाक्टर जीवन क्षेत्रीको संयोजकत्वमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष डाक्टर अञ्जनीकुमार झा, नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर लोचन कार्की र अधिवक्ता ओमप्रकाश अर्याल सदस्य रहेको टोली गठन भएको छ ।

स्वास्थ्य क्षेत्रमा सुधारका विभिन्न ६ बुँदे माग राख्दै डाक्टर केसी १९ औं पटक अनसन बसेका हुन् । उनले सरकारसँग ०७५ साउन १० गते गरिएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐन संशोधन गर्नुपर्ने, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आईओएममा वरिष्ठता मिचेर गरिएका नियुक्ति सच्याउनुपर्ने र बयलपाटा अस्पताललाई नियमित र आवश्यक बजेट व्यवस्था गरी निःशुल्क स्वास्थ्य सेवा सुनिश्चित गर्नुपर्ने लगायत ६ बुँदे माग राखेका छन् ।