काठमाडौं - लिबिया र कुवेत पठादिने भन्दै प्रलोभन देखाएर रकम लिएर बन्धक बनाउने २ जना पक्राउ परेका छन् । उनीहरुलाई प्रहरी प्रधान कार्यालय मानव बेचविखन अनुसन्धान व्यूरो बबरमहलको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चितवन राप्ती नगरपालिका-९ का उद्धव घतानी र झापा मेची नगरपालिका १० का गोरे भन्ने नर बहादुर श्रेष्ठ रहेका छन् । घतानीले एक नेपाली युवालाई लिबियामा मिल्क पाउडर कम्पनीमा पठाइदिने भन्दै एक लाख ६० हजार रूपैयाँ र १ हजार अमेरिकी डलर लिएका थिए । उनले पीडितलाई दुबई हुँदै लिबिया पुर्‍याउने भन्दै २०७५ भदौदेखि २०७६ साउन ८ गतेसम्म बन्धक बनाएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै, श्रेष्ठले तीन जना महिलालाई कुबेत पठाउने भन्दै भारतको नयाँ दिल्ली पुर्‍याएर बन्धक बनाएका थिए । उनलाई व्यूरोबाट खटिएको प्रहरीले झापा मेची नगरपालिका १० स्थित उनकै घरबाट असार ७ गते पक्राउ गरेको हो ।

नयाँ दिल्लीको एक अपार्टमेन्टमा बन्धक बनाई राखेको अवस्थामा भारतीय प्रहरीको सहयोगमा उद्धार गरी तीन नेपाली महिलालाई स्वदेश फर्काइएको थियो ।

दुवै जनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।