काठमाडौं - प्रदेश २ मा करीब छ महीनापछि आज प्रदेश सभाको बैठक बस्दैछ । 

प्रदेश सरकारले प्रदेशसभा छल्न खोजिरहेकामा छ महीनामा अनिवार्य बैठक बस्नुपर्ने बाध्यात्मक व्यवस्थाका कारण पाँचौँ अधिवेशन शुरु गर्न लागिएको बताइएको छ । प्रदेशसभा संसद् सचिवालयका निमित्त सचिव रञ्जीत यादवका अनुसार चौथो अधिवेशन कात्तिक ४ गते सकिएको थियो ।

पाँचौँ अधिवेशनको पहिलो बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्रबारे जानकारी गराएर शुभकामना दिने कार्यसूची तय छ । अन्य विषयमा दलसँग छलफल भइरहेको बताइएको छ । प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्दैछ । 

प्रदेश २ मा नेकपा माओवादी केन्द्रले संसदीय दलको नेता चयन गरेको छ । पार्टी कार्यालयमा बसेको बैठकले दलको नेतामा भरत साहलाई चयन गरेको हो । तत्कालीन नेकपा एमालेसँग एकीकरण हुनुअघि माओवादीको दलको नेतामा रामचन्द्र मण्डललाई चयन गरिएको थियो तर हाल उनी प्रधानमन्त्री केपी शर्मा ओलीको खेमामा लागेकाले साहलाई चयन गरिएको हो । एमालेले पनि आफ्नो दलको नेताबाट सत्यनारायण मण्डललाई हटाएर शत्रुद्यन महतोलाई चयन गरेको छ । 

यस्तै, आजको बैठकबाट माओवादी केन्द्रबाट निर्वाचित सांसदहरु रामचन्द्र मण्डल, ज्वाला साह, कुन्दन प्रसाद कुशवाहा र मोहम्मद समीरको पद जाने सम्भावना बढेको छ ।  सर्वोच्च अदालतबाट नेकपा एकता बदर भएपछि नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा गएका उनीहरुलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २४ घण्टै स्पष्टीकरण सोधेका थिए । तर कसैले पनि स्पष्टीकरण नबुझाएपछि सम्भवतः उनीहरुले आजै सांसद पद गुमाउने सम्भावना रहेको हो ।