काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीको प्लाज्मा फेरेसिस प्रक्रियाबाट उपचार जारी रहेको छ ।  प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालले बुधबार ट्विट गर्दै सिङ्गापुरस्थित  नेशनल युनिभर्सिटी अस्पतालमा उनको उपचार प्रक्रिया जारी रहेको जानकारी दिएका छन् । 

सल्लाहकार रिमालले ट्विटमा प्रधानमन्त्रीका निजी चिकित्सक प्रा डा. दिव्यासिंह शाहले उनको सो उपचार प्रक्रिया अर्को सातासम्ममा पूरा हुुने जानकारी दिएको उल्लेख गरेका छन् । प्रा डा शाह बुधबार स्वदेश फर्किएकी छन् । प्रधानमन्त्री ओलीको स्वास्थ्यावस्था हाल सामान्य स्थितिमा रहेको जनाइएको छ । 

केही दिनअघि रगतमा एण्टीवडीको मात्रा देखिएपछि मिर्गौलाको क्षमता अभिवृद्घिका लागि प्रधानमन्त्री ओली यही भदौ ५ गते  पुनः सिङ्गापुर गएका हुन् । प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, मुख्य सल्लाहकार रिमाल, स्वकीय सचिव राजेश बज्राचार्यलगायत छन् ।