काठमाडौं - भदौ १० गते रसुवामा आएको बाढीका कारण प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाले आज १ः३० बजेसम्म ३३० जनाको उद्धार गरेको छ ।         नेपाली सेनाले केहीबेर अघि मात्रै सामाजिक सञ्जालमार्फत यसबारे जानकारी गराएको हो ।  नेपाली सेनाको हेलिकप्टरद्वारा भाद्र १५ गतेको १३ः३० बजेसम्म ३३० जनाको उद्धार गरिएको जनाइएको छ।  

सेनाले त्रिशूली–३ हाइड्रो पावरको टनेलमा करिब १५ मिटर मुनि गई खोजी कार्य भइरहेको पनि जनाएको छ। त्रिशुली हाइड्रोको थ्री–बी टनेलमा विज्ञ फौजसहित खोज उद्धारको कार्य भइरहेको पनि नेपाली सेनाले जनाएको छ। 

रसुवागढी हाइड्रोको टनेलमा खोज उद्धार गर्ने क्रममा करिब २५० मिटरसम्म पुगेको संयुक्त टोली मानिस फेला नपरे पश्चात फिर्ता भएको छ। 

साथै, प्रभावित जिल्लाहरूमा नेपाली सेनाको करिब ८ हजार ९ सयभन्दा बढी फौज प्रत्यक्ष खटिई खोला, डाँडा एवम् स्थानीयहरूको घरघरमा पुगी खोज तथा उद्धार कार्यलाई समन्वयात्मक रूपमा निरन्तरता दिइरहेको पनि नेपाली सेनाले जनाएको छ ।