काठमाडौं - काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ५३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंका ११७८, ललितपुरमा २५० र भक्तपुरमा १०३ जनामा कोरोना संक्रमण देखिएको हो । आइतबार मात्र उपत्यकामा १ हजार ५९९ कोरोना संक्रमित थपिएका थिए ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४४० जनामा कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ८९ हजार २६३ पुगेको छ । संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ६५ हजार २०२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ११३३ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १९ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५५४ पुगेको छ ।