एकजना नासुको सरुवाका लागि ३२ जना सांसद आए : मन्त्री पण्डित
काठमाडौं - संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी सरुवामा भनसुनको विकृत परम्परा रहेकाले सच्याउन आवश्यक रहेको बताएका छन् ।
बुधबार प्रतिनिधिसभाअन्तर्गत्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवाको गठन, सन्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको दफावार छलफलकाक्रममा मन्त्री पण्डितले विगतको तीतो अनुभव सुनाउँदै सरुवामा हुने भनसुनको विकृतिलाई हटाउने गरी व्यवस्था गर्न आग्रह गरेका हुन् ।
मन्त्री पण्डितले एकजना नायब सुब्बाको सरुवाका लागि आफूकहाँ ३२ जनासम्म सांसद आएको भन्दै अब बन्ने ऐनमा भनसुनको सुनुवाइ हुनै नसक्ने प्रावधान राख्नुपर्ने बताए ।मन्त्रीको आग्रहलगत्तै समितिकी सभापति शशी श्रेष्ठले छलफलकाक्रममा उठेका विषय सम्बोधन हुनेगरी दफा तयार गर्न सामान्य प्रशासन मन्त्रालयका सचिव यादव कोइरालालाई निर्देशन दिइन् ।
छलफलका क्रममा सांसद जनार्दन शर्माले कार्यसम्पादनमा उत्कृष्ट कर्मचारीलाई निश्चित अवधिसम्म सरुवा गर्न नपाइने तर कार्यसम्पादन राम्रो नभएका कर्मचारीलाई जतिखेर पनि हटाउन सक्ने व्यवस्था गर्नुपर्ने धारणा राखे ।सांसद महेश्वरजंग गहतराजले विकास निर्माणसम्बन्धी योजनाका कर्मचारीको पटक–पटक हुने सरुवाले काम प्रभावित हुने प्रवृत्ति रोक्न ऐनमै व्यवस्था गर्नुपर्ने धारणा राखे ।
सांसद दिलेन्द्रप्रसाद बडूले केही विशेषखालका परियोजना अवधिभर परियोजना प्रमुखलाई हटाउन नमिल्ने व्यवस्था गरे परियोजना प्रमुख परियोजना निर्माणमा उत्तरदायी हुने बताए ।
बुधबारको बैठकमा कर्मचारीको सरुवा र काजसरुवाको प्रावधानमाथि छलफल भएको थियो ।
फेसबुक पेज Like गर्नुहोस