काठमाडौं - गृह मन्त्रालयले ४ जिल्लामा कोरोनाको जोखिम उच्च रहेको भन्दै त्यहाँ बन्दाबन्दीलाई थप कडा बनाउने भएको छ । ती जिल्लाहरुलाई कोरोनाको ‘हटस्पट’का रुपमा राख्दै जोखिम कम नभएसम्म लकडाउनलाई कडाइका साथ लागू गर्ने भएको हो ।

कोरोना संक्रमणको उच्च जोखिममा रहेका सर्लाही, रौतहट, कपिलवस्तु र दैलेख रहेका छन् । ‘हटस्पट’को सूचीमा रहेका यी जिल्लाहरुमा तत्काल अत्यावश्यक बाहेक कुनैपनि कामकारबाही सुचारु नगर्ने गृह मन्त्रालयले निर्णय गरेको हो ।

यी जिल्लाहरुमा अत्यावश्यक सेवाबाहेक सार्वजनिक, निजी तथा गैरसरकारी संघसंस्थाबाट हुने काम कारबाही अर्को निर्णय नभएसम्मका लागि सुचारु नगर्न पनि निर्देशन गृह मन्त्रालयले दिएको छ । मन्त्रालयले यी जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई कोरोना संक्रमणको जोखिम र खतरा मूल्यांकन गरेर निर्णय लिन भनेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबारसम्म देशभर कोरोना संक्रमितको संख्या ६ हजार ५ सय ९३ पुगेको छ ।