सञ्चारमाध्यम र पत्रकारलाई नयाँ आचारसंहिता, यस्ता छन् नयाँ प्रावधान
काठमाडौैं - नेपाल प्रेस काउन्सिल र पत्रकार महासंघले आचारसंहिता संशोधन गरेका छन् ।
पत्रकार तथा सञ्चारमाध्यमलाई सामाजिक सञ्जाल प्रयोगलाई सन्तुलित र मर्यादित बनाउनका लागि आचारसंहिता संशोधन गरिएको हो ।काउन्सिल र महासंघले तयार गरेको संशोधित आचारसंहिता आगामी असोज ६ गतेबाट लागू हुने छ । असोज ६ गते राष्ट्रपतिबाट पत्रकार आचारसंहिता सार्वजनिक गरिने भएको छ ।
पछिल्लो समय युट्युबर, ब्लगरलाई समेत पत्रकार भनेर सर्वसाधारणले बुझ्ने र उनीहरुका सनसनीपूर्ण तर, अफवाह फैलाउने सामाग्री सामाजिक सञ्जालमा शेयर गर्ने प्रवृत्ति बढेकाले पत्रकारका लागि सामाजिक सञ्जाल प्रयोगमा समेत आचारसंहिता प्रेस काउन्सिलले जनाएको छ ।
अबदेखि एउटा अनलाइनको समाचार वा सामाग्री साभार गर्ने तर, स्रोत नखुलाउने प्रवृत्ति रोक्न पनि काउन्सिलले कडाइ गरेको छ । अबदेखि मूल स्रोत उधृत गरेर वा अनुमति लिएरमात्र अरुको सामाग्री साभार गर्न पाइनेछ । त्यसो नगरे काउन्सिलले कारबाही गर्नेछ ।
नयाँ आचारसंहिताका केही व्यवस्था यस्ता छन् -
१. पत्रकार तथा सञ्चारमध्यमले सामाजिक सञ्जालमार्फत प्रवाह गर्ने समाचार, विचार र सूचना वा जानकारीहरु सत्य तथ्यपूर्ण, सन्तुलित र मर्यादित हुनुपर्ने ।
२.अमर्यादित र अपुष्ट समाचार प्रवाह गर्न नपाइने ।
३. सामाजिक सञ्जालका अन्य प्रयोगकर्ताले प्रकाशन गरेका जानकारी, विचार तथा कमेन्ट शेयर वा रिट्विट गरी पुनः प्रकाशन गर्दा सत्यतथ्य जाँच गरी निष्पक्षतालाई समेत ख्याल गरेर सम्प्रेषण गर्नुपर्ने ।
४. पत्रकार तथा सञ्चारमाध्यमले कुनै पनि प्रविधिको अदृश्य रूपमा प्रयोग गर्न नपाइने ।
५.सार्वजनिक हितका लागि प्रविधिको गोप्य रूपमा प्रयोग गर्नुपरेमा त्यसरी संकलित सामाग्री प्रस्तुत गर्दा पाठक, स्रोता वा दर्शकलाई जानकारी दिनुपर्ने ।
६.न्यायिक निकायमा विचाराधीन मुद्दाको स्वच्छ सुनुवाइ प्रक्रिया वा निर्णयमा प्रतिकूल असर पार्ने गरी कुनै पनि सामग्री सम्प्रेषण गर्न नपाइने ।
आचारसंहिता उल्लंघन गर्नेलाई यस्तो कारवाही हुन्छ -
१. आचारसंहित लागू नगर्ने पत्रकार वा सञ्चारमाध्यमप्रति खेद प्रकट गर्ने, अवज्ञाकारी, कालोसूचीमा राख्ने र पटक–पटक गरिएका कारबाहीको विवरण तत्काल वा आवश्यकता अनुसार सार्वजनिक गर्ने ।
२. कालोसूचीमा परेका पत्रकार वा सञ्चारमाध्यमले राज्यबाट प्राप्त हुने लोककल्याणकारी विज्ञापन लगायतका अन्य सुविधा नपाउने ।
३. कालोसूचीमा परेका पत्रकार प्रेस पास निलम्बन गर्न सम्बन्धित निकायलाई सिफारिस गर्ने।
४. कालोसूचीमा राखेपछि पनि काउन्सिलको निर्देशन पालना नगरेमा काउन्सिल वा नेपाल सरकार वा सार्वजनिक निकायका तर्फबाट उपलब्ध हुने नागरिक सुबिधाहरुबाट समेत त्यस्तो पत्रकारलाई निश्चित अवधिका लागि बञ्चित गर्ने ।
५. अनलाइन सञ्चारमध्यममा सम्प्रेषित कुनै सामाग्रीले आचारसहितको गम्भीरु उल्लंघन गरेको ठहर भएमा निश्चित अवधि तोकी त्यस्ता आपत्तिजनक सामाग्री अनलाइनमा नदेखिने गरी रोक लगाउन सम्बन्धित निकायमा पत्राचार गरिने ।
६. सञ्चारमाध्यमले आचारसंहिताको गम्भीर उल्लंघन गरी कसैको चरित्र, सामाजिक प्रतिष्ठामा गम्भीर चोट पुर्याउन नियतवश समाचार सम्प्रेषण गरेको पाइएमा प्रेस काउन्सिलले सम्वन्धित सञ्चार माध्यमलाई क्षमायाचना गर्न लगाई अन्य निर्देशन दिन सक्ने ।
फेसबुक पेज Like गर्नुहोस