मान्छेहरुलाई कसरी फसाइँदो रहेछ भनेर बुझ्ने मौका पाएँ : रवि लामिछाने
काठमाडौं - टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले हिरासतमा रहेका व्यक्तिहरुसँगको भेटमा मान्छेहरुलाई कसरी फसाइँदो रहेछ भनेर बुझ्ने मौका पाएको बताएका छन् ।
मंगलबार बिहान चितवनमा आयोजित पत्रकार सम्मेलनमा हिरासतको बसाइ नयाँ अनुभव भएको बताउँदै सो कुरा भनेका हुन् ।
राजनीतिमा आउने सम्भावनाबारे सोधिएका प्रश्नको उत्तर दिँदै उनले भने, ‘सम्भावनाको ढोकामा चुकुलमात्र लागेको छ, ताल्चा लागेको छैन ।’
यद्यपि उनले सञ्चारकर्मबाटै राजनीतिक दल र तिनका नेताहरुलाई जिम्मेवार बनाउनु आफ्नो पहिलो प्राथमिकता हुने बताए । केही लागेन भने राजनीति विकल्प बन्न सक्ने उनले बताए ।
‘बेथिति र बिसंगतिलाई पर्दाफास गर्ने क्षमता होस् किन गर्नुपर्छ राजनीति रु तर हुन सकेन, जति गर्दा पनि केही लागेन भने त्यो विकल्प नै होइन, त्यसको बाटो नै छैन भनेर चाहिँ म भन्दिनँ,’ उनले भने, ‘तर अहिले यतिखेरचाहिँ अझ बढी जिम्मेवार भएर खबरदारीमा नै आफूलाई व्यस्त बनाउन चाहान्छौं ।’
जनताको पक्षमा अझ खरो रुपमा उत्रिने पनि उनले बताएका छन् । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा १० दिन हिरासतमा बसेका रवि सोमबार ५ लाख धरौटीमा रिहा भएका थिए ।
फेसबुक पेज Like गर्नुहोस