काठमाडौं - नेकपाको ओली समूहको संसदीय दलको बैठक २२ गते बस्ने भएको छ । फागुन २३ गतेबाट सुरु हुन लागेको पुर्नस्थापित प्रतिनिधि सभा अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाउन सो समूहको बैठक २२ गते बस्न लागेको हो ।

प्रधानमन्त्री समेत रहेका सो समूहका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीले २२ गते शनिवार संसदीय दलको बैठक बस्न लागेको जानकारी दिइन् । सो बैठकमा नेकपाकै अर्को समूह प्रचण्ड–नेपालले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएमा कसरी सामना गर्ने भन्ने विषयमा रणनीति बनाउन बैठक डाकेको बताइएको छ ।

प्रधानमन्त्री ओलीले आफूले राजीनामा नदिने बरु आफूलाई हटाएर देखाउन चुनौति दिएका छन् । उता नेकपाकै प्रचण्ड–नेपाल समूहले भने अन्य दलहरुसँग मिलेर ओलीलाई हटाएरै छोड्ने बताउँदै आएका छन् । बुधबार सो समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत २३ गतेसम्म ओलीले राजीनामा नगरे दलहरू मिलेर प्रधानमन्त्रीलाई हटाउने प्रचण्डले बुधवार चेतावनी दिएका थिए ।