काठमाडौं - संसदको शिक्षा तथा स्वास्थ्य समितिले मेडिकल कलेजहरुको शुल्क तत्काल घटाउन सरकारलाई निर्देशन दिएको छ ।

शनिबार बसेको संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले यस्तो निर्देशन दिएको हो । मेडिकल कलेजहरुको शुल्कसम्बन्धी विवाद समाधान गर्न गठित उपसमितिले दिएको सुझावका आधारमा तत्काल शुल्क घटाउन सरकारलाई निर्देशन दिएको समितिकी सभापति जयपुरी घर्तीले बताइन् ।

समितिले मेडिकल कलेजहरुको पाठ्यक्रम र शैक्षिक क्यालेन्डरमा एकरुपता ल्याउन तथा चिकित्सा शिक्षा आयोग तत्काल गठन गर्न समेत सरकारलाई सचेत गराएको छ । त्यसैगरी समितिले गरिब, जेहेन्दार, द्वन्द्वपीडित परिवारका सदस्यलाई चिकित्सा शिक्षा अध्ययनका लागि ऋण उपलब्ध गराउने विशेष व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।

आजको बैठकमा उपसमितिले जेहेन्दार विद्यार्थीहरु पनि खर्चको अभावमा चिकित्सा शिक्षा अध्ययन गर्नबाट बञ्चित हुने गरेकाले उनीहरुलाई ऋण उपलब्ध गराएर भएपनि सरकारले अध्ययन गर्ने विशेष व्यवस्था गर्नुपर्ने प्रस्ताव पेश गरेका थियो ।