धनुषा – बालिकालाई बलात्कार गरी हत्या गर्ने २ जनालाई जिल्ला अदालत धनुषाले बुधवार आजीवन काराबासको सजाय सुनाएको छ ।

सामूहिक बलात्कार गरी बालिकाको हत्या गर्ने धनुषाको औरही गाउँपालिका–२ परवाहाका ३१ वर्षीय विनोद मुखिया र ३३ वर्षीय नथुनी पण्डितलाई जिल्ला अदालत धनुषाले आजीवन काराबासको सजायको फैसला सुनाएको हो ।

बुधवार जिल्ला अदालतका न्यायाधीश राजेश कटुवालको इजलासले मुखिया र पण्डितलाई बालिका बालात्कार गरी हत्या गरेको दोषी ठहर गर्दै आजीवन काराबास सहितको सजाय सुनाएको हो ।

झण्डै १ वर्षअघि विक्रम संवत् २०७५ असोज २६ गते दूर्गा मेला हेर्न गएकी परवाहाकी रामाशिष यादवकी १० वर्षकी छोरी मनिताकुमारी यादवलाई गाउँकै स्थानीय मुखिया र पण्डितले रु १० को प्रलोभन देखाएर गाउँभन्दा पर लगी बलात्कार गरी हत्या गरेका थिए ।

बालिकाको शव धान खेतको हिलोमा गाडिएको अवस्थामा फेला परेलगत्तै प्रहरीले दुवैलाई पक्राउ गरेको थियो ।