काठमाडौं  - शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले २०७६ सालको माध्यामिक शिक्षा परीक्षा पूर्व निर्धारित समयमानै सञ्चालन हुने बताएको छ ।

मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै केही सञ्चारमाध्यम र सामाजिक सञ्जालहरुमा एसईई स्थगित र विद्यालयहरु बन्द गर्ने भन्ने गलत समाचारहरु प्रवाह भैरहेकोमा गम्भीर ध्यानाकर्षण भएको बताउदैं एसईई परीक्षा पूर्व निर्धारित समयतालिका अनुसार चैत ६ गतेबाटै हुने जानकारी दिएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘चैत ६ गतेदेखि हुनेगरी तय भएको एसईईको परीक्षा यथावत रुपमा नै सञ्चालन हुनेछ । अतः परीक्षा सारेको वा विद्यालय बन्द गरिएको भन्ने जस्ता गलत सूचनाको भ्रममा नपर्न मन्त्रालय सबैमा अनुरोध गर्दछ। ’

मन्त्रालयले कक्षा १ देखि नौ सम्मको परीक्षा चैत ५ सम्म सम्पन्न गरिसक्न यसअघि नै आव्हान गरिसकेको छ ।