काठमाडौं - श्रीलंकाको डम्बुलामा जारी महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले जित हासिल गरेको छ ।

नवौँ संस्करणको एसिया कप टी–२० महिला क्रिकेटको पहिलो खेलमा युएईमाथि नेपालले ऐतिहासिक जित निकालेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय १५ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १६.१ ओभरमा केवल चार विकेट गुमाएर एक सय १८ रन बनाउँदै विजय लक्ष्य पार गर्यो । नेपाललाई महत्वपूर्ण जित दिलाउन बलिङतर्फ कप्तान इन्दू बर्मा र ब्याटिङतर्फ सम्झना खड्काले महत्वपूर्ण योगदान गरे ।

इन्दूले तीन विकेट लिइन् भने सम्झनाले उत्कृष्ट अर्धशतकीय पाली खेलिन् । अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो पहिलो अर्धशतक प्रहार गर्ने क्रममा सम्झनाले अविजित ७२ रन बनाइन् ।