काठमाडौं - सरकारले विदेशबाट आउने नागरिकहरूका लागि तोकिएको हवाई भाडा पुःन घटाएको छ ।

शनिबार संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सका अधिकारीहरूसँग छलफल गरेपछि भाडा घटाउने निर्णय भएको हो । यसअघि सरकारले चार्टर फ्लाइटको भाडा महँगो भएको भन्दै आलोचना भएपछि शुक्रबार केही भाडा घटाएको थियो ।

नयाँ भाडादर अनुसार मलेसियाको भाडा ३ सय ७२ डलर कायम भएको छ । यसअघि मलेसियाको हवाई भाडा ४ सय ६५ अमेरीकी डलर रहेको थियो । कतारका लागि ३ सय ९२ डलर तोकिएको छ । यसअघि ४ सय ९० डलर तोकिएको थियो । दुबईको भाडा ३ सय ७२ डलर कायम गरिएको छ । यसअघि ४ सय ५० डलर रहेको थियो ।

यस्तै, साउदीको दमामको भाडा ५३० बाट ४३०, ५६५ बाट ४६५ र जेद्दाको ६९० बाट ५९० डलरमा घटाइएको छ । ओमनको मस्कटको भाडा ३ सय ६८ डलर कायम भएको छ । यसअगाडि ४ सय ६० डलर रहेको थियो । बहराइनबाट फर्किने यात्रुले ३९२ डलरमा टिकट पाउने छन् । यसअघि बहराइनबाट फर्किने भाडादर ४९० डलर तोकिएको थियो ।

त्यस्तै, कुवेतको भाडा ४ सय १० डलर कायम भएको छ । यसअगाडि ५ सय १० डलर रहेको थियो । जोर्डनको लागि भाडादर ६ सय ७५ डलर कायम भएको छ। अघि ७ सय ७५ डलर तोकिएको थियो । साइप्रसको सय डलर घटाएर ७ सय ३० डलर कायम भएको छ । यसअघि भाडा ८ सय ३० डलर रहेको थियो ।