सांसद पद फुकुवा गर्न रबिको आग्रह, सभामुख भन्छन् : कानून अनुसार नै गरेको हुँ
काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सांसद पद फुकुवा गर्न अनुरोध गरेका छन् ।
सभामुख देवराज घिमिरेलाई भेट्न सिंहदरबारस्थित कार्यकक्षमा पुगेका लामिछानेले आफूमाथि सरकारले प्रतिशोध साँधेको भन्दै सभामुखसंग सांसद पद फुकुवा गर्न अनुरोध गरेका हुन ।
लामिछाने सांसद पदबाट गत पुस ८ गते निलम्बनमा परेका थिए ।
गत कात्तिक २ गते पक्राउ परेका सभापति लामिछाने सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोगमा मुद्दा दर्ता भएपछि गत पुस ८ गते उनको सांसद पद निलम्बन भएको थियो ।
लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराधसहित सम्पत्ति शुद्धीकरणमा कास्की जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएपछि कास्की जिल्ला प्रहरीले संघीय संसद सचिवालयमा जानकारी पत्र पठाएको थियो ।
सोही पत्रका आधारमा संसद् सचिवालयले लामिछाने सांसद पदबाट निलम्बनमा रहेको पत्र टाँसेको थियो ।
जवाफमा सभामुख घिमिरेले लामिछानेको सांसद पद निलम्बन कानुन अनुसार भएको बताए ।
उनले भने–‘कानुन भन्दा माथि कोही पनि छैन । मैले कानुन अनुसार नै गरेको छु जे गरेको छु ।’
फेसबुक पेज Like गर्नुहोस