बाढी प्रभावित क्षेत्रमा उद्धारमा खटिए तीस हजार प्रहरी
काठमाडौं - मुलुकभर नेपाल प्रहरीका ३० हजार जनाभन्दा बढी कर्मचारी प्रत्यक्ष रुपमा बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यमा खटिएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार प्रदेश १ मा ६ हजार ३०५, प्रदेश २ मा ५ हजार ७०२, प्रदेश ३ मा ३ हजार ४०५, प्रदेश ६ मा ३ हजार ११२ र काठमाडौं उपत्यकामा ८ हजार ८५६ प्रहरी परिचालन भएको छ । बाँकी प्रदेश ४, प्रदेश ५ र प्रदेश ७ मा दैविक विपत्तिको अवस्था हेरेर आवश्यकताअनुसार प्रहरी परिचालन गरिने बताइएको छ ।
यस्तै सशस्त्र प्रहरी पनि बाढी र पहिरोबाट प्रभावित क्षेत्रहरुमा खटिएको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी सुरज कुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनसार ८ वटा बाहिनीमा ५० जनाको टिम, गणहरुमा ३५ जनाको टिम र गुल्मलगायत अन्य साना कार्यालयहरुमा १० जनाको टिम स्रोतसाधनसहित स्ट्यान्डबाई रहेको छ ।
हालसम्म सशस्त्र प्रहरीले बाढी र पहिरोबाट अलपत्र परेका ८०० जनाको रेस्क्यू गरिएको डीआईजी श्रेष्ठले बताए । उनले भने, ‘अवरुद्ध भएको राजमार्गहरु खुलाउने प्रयास पनि भइरहेको छ । यात्रुहरुको सुरक्षा गर्ने काम पनि सशस्त्र प्रहरीले गरेको छ ।’
बढी प्रभावित भएका ठाउँहरुमा अन्य ठाउँबाट थप साधनस्रोत पुर्याएर उद्दार कार्यमा सशस्त्र प्रहरी परिचालन भएको उनको भनाई छ । ‘यस्तो परिस्थितिमा कसैलाई पनि विदा दिएका छैनौं । सबैजना आ–आफ्नो ठाउँबाट खटिएका छन् ।’
फेसबुक पेज Like गर्नुहोस