काठमाडौं,एजेन्सी - टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा गत माघ २३ गतेको भूकम्पमा परी  ४१ हजारभन्दा बढीको मृत्यु भएको छभने दशौँ हजार घाइते भएका छन् । दुवै देशमा हजारौँ घरबारविहीन भएका छन् । 

खोज तथा उद्धारमा संलग्न सरकारी अधिकारीहरूका अनुसार टर्कीएमा ३५ हजार चार सय १८ जना तथा सिरियामा पाँच हजार आठ सय जनाको मृत्यु भएको छ । टर्कीएमा आठ हजारभन्दा बढीलाई भग्नावशेषबाट उद्धार गरिएको छ । सिरियामा ५३ लाख मानिस घरबारविहीन भएका छन् । टर्कीएमा दुई सय १५ भन्दा बढी परकम्प महसुस भएको छ । टर्कीएमा ४६ लाख तथा सिरियामा २५ लाख बालबालिका भूकम्पबाट प्रभावित भएका छन् । 

टर्कीएको कहरामनमारसलाई केन्द्रविन्दु बनाएर सात दशमलव आठ म्याग्निच्युडको भूकम्प र त्यसको केही क्षणपछिको भएको त्यति नै शक्तिशाली अर्को परकम्पबाट टर्कीएका दश वटा प्रान्तमा अकल्पनीय क्षति भएको छ । छिमेकी सिरियामा पनि जनधनको व्यापक क्षति भएको छ । 

भैँचालोले भत्काएको भवनको भग्नावशेषबाट जीवितै उद्धार गर्न टर्र्कीएमा उद्धारकर्मी अझै सङ्घर्ष गरिरहेका छन् भने भूकम्पको एक सय २०५ घण्टापछि एक महिलासहित नौ जनालाई जीवितै उद्धार गरिएको छ । टर्कीएका राष्ट्रपति तैयेप एर्दोगानले भूकम्पका प्रारम्भिक दिनमा समस्या भए पनि अब परिस्थिति नियन्त्रणमा आएको बताउनुभएको छ । राष्ट्रिय टेलिभिजनबाट वक्तव्य जारी गर्दै उहाँले मानव इतिहासमा सबैभन्दा त्रासदीपूर्ण प्राकृतिक विपत्तिको चपेटामा आफ्नो देश परेको बताए । 

आवास र खानेकुराको व्यवस्था दुवै देशका निम्ति चुनौती बनेको छ । टर्कीए सरकारले गुणस्तरहीन भवन बनाएको अभियोगमा कैयौँ निर्माण व्यवसायीलाई पक्राउ गरेको छ । अदाना शहरका अभियोजकले भत्केका भवनका सम्बन्धमा अनुसन्धान गर्न ६२ जनालाई हिरासतमा राख्न आदेश दिएका छन् । भवन संहिता कडाइका साथ कार्यान्वयन गर्न सरकारले सम्बद्ध निकायलाई निर्देशन दिएको छ । 

टर्कीएको तुलनामा सिरियाको स्थित दयनीय बनेको संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूले बताएका छन् । युरोपका लागि विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले दुवै देशका करिब दुई करोड २६ लाख भूकम्प पीडितलाई तत्काल मानवीय सहायता आवश्यक भएको बताएका छन् । प्रतिकूल मौसम, स्वास्थ्य तथा सरसफाइको उचित व्यवस्थापन नहुँदा सङ्क्रामक रोगको जोखिम बढेको छ ।