विद्यालय नखुलुञ्जेलसम्म कुनै शुल्क नलिन र निःशुल्क इन्टरनेटको व्यवस्था गर्न माग
काठमाडौं - नेपाल विद्यार्थी सङ्घले विद्यालय नखुलुञ्जेलसम्म कुनै शूल्क नलिन र अनलाइन कक्षा सञ्चालनको लागि निःशुल्क इन्टरनेटको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई ज्ञापनपत्र बुझाँउदै नेविसङ्घले शैक्षिक संस्था नखुलुञ्जेलको अवधिमा विद्यालय र क्याम्पसहरुले शुल्क लिने कार्य बन्द गर्न माग गरेको हो । सिकाइका लागि अनलाइन, रेडियो, टीभी, पत्रपत्रिका तथा टेलिफोनजस्ता माध्यमबट आगामी शैक्षिक सत्रको पठनपाठान सुरु गर्न र इन्टरनेटलगायतका सबै प्रविधिकको निःशुल्क व्यवस्था गर्न नेविसङ्घले माग गरेको हो ।
नेविसङ्घले पुस्तक आयातमा लगाइएको कर खारेज गर्नुपर्ने, सामुदायिक विद्यालयका विद्यार्थीका लागि सम्बन्धित क्षेत्रमा पुस्तकको होम डेलिभरि गर्नुपर्ने माग पनि अघि सारेको छ । यस्तै सरकारी विद्यालयहरुमा क्वरेण्टीन निर्माण भएको अवस्थामा निजी विद्यालय खुल्ने कुनै निर्णय नगर्न पनि सरकारलाई आग्रह गरेको छ ।
कोरोना भाइरसबाट प्रभावित विद्यार्थीहरुलाई परेको मनोसामाजिक समस्या निवारण गर्न सिर्जनात्मक विकासका कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेट र कार्यक्रम नआउनु दुःखद भएको नेविसङ्घ अध्यक्ष राजिव ढुङ्गानाले बताए ।
नेविसङ्घले कक्षा ११ को परीक्षाफल पनि आन्तरिक मूल्याङकनको अधारमा गर्न आग्रह गरेको छ । ज्ञापनपत्र बुझ्दै मन्त्री पोखरेलले नेविसङ्घले उठाएका कतिपय मागहरु कार्यान्वयनको चरणमा रहेको र बाँकी विषयहरुमा छलफल गरी आवश्यक टुङ्गोमा पुग्ने बताए ।
फेसबुक पेज Like गर्नुहोस