काठमाडौं - बिस्कुटको लोभमा परि रक्तदान गर्न पुगेका एक युवकले विस्कुट नपाएपछि आफूले नै दान गरेको रगत पिएका छन् । विश्व रक्तदान दिवसको अवसरमा भारतको छत्तीसगढ निवासी छुट्टन पाण्डे नाम गरेका युवकले यस्तो हर्कत मच्चाएका हुन् ।

प्रायजसो ठाउँमा रक्तदान गरेका मानिसहरुलाई जुस अथवा बिस्कुट दिने गरिन्छ । बिस्कुट खाने लोभमा रक्तदान गर्न पुगेका पाण्डेले बिस्कुट नपाएपछि रिसको झोकमा आफ्नै रगत पिएका हुन् । उनको यस्तो कार्यले कार्यक्रममा सहभागी स्वयमं सेवक र मानिसहरु आश्चर्यमा परेका थिए ।

मानिसहरुको यस्तो किन गरेको भन्ने प्रश्नमा उनले जवाफ दिँदै भने, ‘पार्ले जी बिस्कुट मलाई धेरै नै मनपर्छ र आज बिहान बिस्कुटको लागि मैले ब्रश नगरेर नै रगत दान गर्न आएको थिएँ ।’

आफूलाई बिस्कुटको नाममा धोका दिइएको बताउँदै उनले भने, ‘रगत त म आफैलाई आवश्यक छ । तर मलाई बिस्कुटको नाममा धोका दिइयो । मैले बाल्यकालदेखि नै अरुलाई ठग्न सिकेको थिइन, त्यसैले मैले आफ्नो रगत पनि फिर्ता लिएँ ।’