काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।

मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर सेन्टरमा उपचाररत प्रधानमन्त्रीको स्वास्थ्यबारे शुक्रबार पत्रकार सम्मेलनमार्फ उपचारमा संलग्न चिकित्सकहरुले उनको स्वास्थ्यमा सुधार भइरहेको र उनी खतरामुक्त रहेको बताएका छन् ।

उनका निजी चिकित्सक डा. दिब्या सिंह शाहका अनुसार स्वास्थ्यमा निरन्तर सुधार भइरहेको र अहिलेको अवस्थामा उनी खतरामुक्त रहेका छन् ।

विशेषज्ञ चिकित्सक डा। रमेशसिंह भण्डारीले भने, ‘प्रधानमन्त्रीज्यू एकसाता अझै अस्पतालमा रहनुहुन्छ । दश दिनपछि नियमित काम गर्न, अन्तर्वार्ता दिन सक्नुहुन्छ । उहाँको स्वास्थ्यमा उल्लेख्य सुधार आइरहेको छ ।’

एपेन्डिसाइटिसको शल्यक्रियापश्चात सघन कक्षमा उपचाररत प्रधानमन्त्रीको मङ्गलबार र बुधबार दुईपटक डायलाइसिस गरिएको भण्डारीको भनाइ छ ।