काठमाडौं - अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विदेशमा रहेका नेपालीलाई नेपालमा ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् ।

चीनको ग्वाङझाउमा शनिबारदेखि सुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औँ एसिया प्यासेफिक सम्मेलनलाई भिडियो सन्देशमार्फत सम्बोधन गर्दै वाग्लेले पर्यटन, सूचना प्रविधि, हरित ऊर्जा, उच्च मूल्ययुक्त कृषि तथा आयात प्रतिस्थापन हुने क्षेत्रमा लगानी गर्न आग्रह गरेका हुन् ।

सरकारले नेपालमा लगानीको वातावरण निर्माणसँगै स्वदेशमै रोजगारी सिर्जना गर्ने र एआई तथा सूचना प्रविधिको क्षेत्रमा काम गर्न प्रोत्साहन गर्ने गरी नीतिगत सुधार अघि बढाइरहेको उनले बताए ।

'प्रवासी साथीहरू, अब नेपाल आएर ढुक्कसँग नेपालमा लगानी गर्नुहोस् । पर्यटन, सूचना प्रविधि, हरित ऊर्जा, उच्च मूल्ययुक्त कृषिमा र आयात प्रतिस्थापन हुने क्षेत्रमा लगानी गर्नुहोस्,' उनले भने ।

सरकारले आर्थिक सुधारलाई तीव्रता दिएको दाबी गर्दै वाग्लेले बजेटमार्फत २७ वटा नयाँ कानुन ल्याएर लगानीमैत्री वातावरण निर्माणको प्रयास भइरहेको बताए । सम्मानजनक रोजगारी सिर्जनालाई सरकारले प्राथमिकतामा राखेको उनको भनाइ छ ।

सरकारको आम्दानी बढाउन कर प्रणालीमा सुधार गरिएको उल्लेख गर्दै उनले बजेटमार्फत नेपालको आर्थिक नीतिको ‘जहाज मोड्ने’ काम सुरु भएको बताए ।

‘पहिलो वर्ष सुधारको सुरुआत गर्‍यौँ, दोस्रो वर्ष अझै फराकिलो सुधारको काम अघि बढ्नेछ । तेस्रो र चौथो वर्ष सुधारको नतिजा देखिनेछ । चौथो र पाँचौँ वर्षमा यसको प्रतिफल जनताले पाउनेछन्,’ उनले भने ।

अर्थमन्त्री वाग्लेले सरकारका लक्ष्य पूरा गर्न आन्तरिक स्रोत महत्वपूर्ण रहेको बताए । बाह्य लगानीका स्रोत अप्ठ्यारो अवस्थामा रहेको भन्दै उनले प्रवासी नेपालीको पुँजी, ज्ञान र सीपलाई नेपालमा परिचालन गर्नुपर्ने आवश्यकता औँल्याए ।

प्रवासमा रहेको पुँजी र लगानी नेपाल भित्र्याउने विषय पार्टीको घोषणापत्रमै समेटिएको र सरकारले त्यसअनुसार नीतिगत पहल गरिरहेको उनले बताए ।

‘निर्वाचनको घोषणापत्रमा पनि हामीले सफ्ट पावरको उपयोगका कुरा गरेका थियौँ । अहिले सरकारले डायस्पोराको लगानी र ज्ञान नेपाल भित्र्याउने नीति लिएको छ,’ उनले भने ।

धितोपत्र बाँडफाँट तथा निष्कासन नियमावली संशोधन गरी नेपाल सरकार र एनआरएन इन्भेस्टमेन्ट फन्डबाट जारी हुने सेयरको हिस्सा ८५ प्रतिशत पुर्‍याइएको पनि उनले जानकारी दिए ।

सरकारले रुग्ण उद्योगलाई पुनर्जीवन दिने काम अघि बढाइरहेको पनि वाग्लेले बताए । त्यस्ता उद्योग पुनः सञ्चालनका लागि आवश्यक सीप, ज्ञान र अनुभव भएका प्रवासी नेपालीले समेत सहभागिता जनाउन सक्ने उनले उल्लेख गरे ।