काठमाडौं - प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा पारित गर्ने सरकारको कार्यको समर्थन गरेका छन् ।

महासचिव विप्लवले आज एक विज्ञप्ति जारी गर्दै जेठ ३१ गते संसद्‍बाट नक्सा पारित गरिएको कार्यको समर्थन गरेका हुन् । जनमत र संघर्षको दबाबमा परेर ओली सरकारले संसद्बाट नक्सा पास गर्न बाध्य भएको उनको भनाइ छ ।

'भारतले नेपालका लिम्पियाधुरा, लिपुलेक, कालापानी ५८ वर्षदेखि आफ्नो कब्जामा राखेको छ । त्यसका विरुद्ध नेपाली देशभक्त जनता, विज्ञ, बुद्धिजीवी, क्रान्तिकारी शक्तिहरूले निरन्तर सङ्घर्ष गर्दै आएका छन् । उक्त जनमत र सङ्घर्षको दवाबमा परेर केपी वली सरकार २०७७ जेठ ३१ गते उक्त भूभागहरू समेटिएको नक्सा संसद्बाट पास गर्न बाध्य भएको छ ।' उनले भनेका छन्, 'हामी नक्सा पास गरेर जनजागरणलाई मत्थर मात्र पार्ने कार्यमा सीमित नरही यथाशीघ्र कूटनीतिक र राजनीतिक पहल गरेर कालापानी क्षेत्रबाट भारतलाई फर्काउन र यी भूभागलाई नेपालको प्रत्यक्ष स्वामित्वमा लिन अगाडि बढ्न आवश्यक छ भन्ने धारणा स्पष्ट पार्न चाहन्छौं ।'

उनले आमनागरिकहरूलाई पनि सरकारको मुख मात्र नताकेर देशको सार्वभौमिकता र स्वाधीनताका पक्षमा हरदम जागरुक रहन अनुरोध गरेका छन् ।

विज्ञप्ति-