काठमाडौं – बिहीवारदेखिको अविरल वर्षाका कारण देशभरमा मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

प्रहरी महानिरीक्षकको सचिवालयका एसपी रमेश थापाका अनुसार अविरल वर्षापछिको बाढी र पहिरोका कारण १६ जनाको मृत्यु हुनुका साथै ५ जना बेपत्ता भएका छन् ।

एसपी थापाका अनुसार खोटाङ र काठमाडौंमा ३-३, काभ्रे र भोजपुरमा २-२ तथा पर्सा, महोत्तरी, रामेछाप, सिन्धुली, ललितपुर र धादिङमा १-१ जनाको मृत्यु भएको छ ।

वर्षाका कारण नदी तथा खोलाहरूमा बाढी आएको छ भने देशका कैयन भू-भाग डुबानमा परेका छन् ।काठमाडौंमा पनि कलंकी, बल्खु-कुलेश्वर तथा भक्तपुरको हनुमन्ते खोला आसपास क्षेत्र डुबानमा परेको छ ।

मुलपानीमा छिमेकीको घरको पर्खाल भत्किएर टहरा पुर्दा ३ जनाको मृत्यु भएको छ भने कलंकीमा खोलाले बगाएको सिलण्डर समाउन खोज्दा एक जना बेपत्ता भएका छन् । देशभरबाट क्षतिको विवरण आउने क्रम जारी छ । मृतक तथा बेपत्ताहरूको संख्या अझ बढ्न सक्ने प्रहरीले जनाएको छ ।