नेपालको नयाँ नक्सा प्रमाणीकरण, आजै सार्वजनिक गर्ने तयारी
काठमाडौं - लिम्पियाधुरा, लिपुलेक र कालापानीसहित नेपालको नयाँ राजनीतिक नक्सा प्रमाणीकरण भएको छ । मंगलबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदार न्यौपानेको प्रस्तावमा मुख्य सचिव लोकदर्शन रेग्मीले नक्सा प्रमाणीकरण गरेका हुन् ।
नक्सामा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई दार्चुला जिल्लाको व्यास गाउँपालिकामा समेटिएको छ ।
सोमबार बसेको मन्त्रीपरिषद् बैठकले नयाँ नक्सा जारी गरेको थियो । सचिव न्यौपानेले मंगलबार नयाँ नक्सा प्रमाणीकरणका लागि मन्त्रालयबाट टिप्पणी उठाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फाइल पेस गरेका थिए ।
प्रमाणित नक्सा बुधबार सार्वजनिक गर्न लागेको भूमि व्यवस्था मन्त्रालय स्रोतले बताएको छ । नयाँ नक्साअनुसार नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर कायम हुनेछ । अतिक्रमित भूभागको क्षेत्रफल ३३५ वर्गकिलोमिटर छ ।
फेसबुक पेज Like गर्नुहोस