काठमाडौं - नेकपा माधव नेपाल पक्षले प्रधानमन्त्री तथा तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पुस ५ गते संसद विघटन गरेको कदमलाई कालो दिन भनेको छ । वरिष्ठ नेता माधवकुमार नेपालले आफू पक्षीय राष्ट्रिय भेलाका निर्णय र त्यसअघि र पछि भएका स्थायी तथा केन्द्रीय कमिटीका निर्णयहरुसमेत समावेश गरेर जारी गरेको सर्कुलरमा पुस ५ लाई कालो दिन भनिएको हो । 

‘२०७१ सालको असारमा सम्पन्न हाम्रो पार्टीको नवौं राष्ट्रिय महाधिवेशनले मुलुकमा आएको राजनीतिक परिवर्तनमा टेकेर समाजको आर्थिक–सामाजिक एवं सांस्कृतिक रूपान्तरण अभियान सञ्चालन गर्दै समाजवादका आधार निर्माण गर्ने कार्यदिशा तय गरेको थियो । उक्त कार्यदिशा अनुरूप पार्टीले अगाडि सारेका नीति र कार्यक्रमप्रति विश्वास गरेर गत निर्वाचनमा जनताले पार्टीलाई राम्रो मत दिएका थिए । तर महाधिवेशनबाट पार्टी अध्यक्षमा निर्वाचित भएका कमरेड केपी ओली महाधिवेशनबाट पारित नीति र विधि अनुसार चल्न नै चाहनुभएन । उहाँले न महाधिवेशनको दिशा निर्देश अनुसार पार्टी चलाउनुभयो न त सरकार नै पाटीको नीति अनुसार चलाउनुभयो । हामीले पार्टी एकता नै गर्ने प्रतिबद्धताका साथ दुई ठूला कम्युनिष्ट पार्टीबीच चुनावी तालमेल गरी एउटै घोषणा पत्र लिएर चुनावमा गएका थियौं । जनताले त्यसलाई सकारात्मक ढङ्गले लिई समर्थन जनाएर मत दिएका थिए र करिव दुई तिहाइ बहुमतको सरकार बनाउने अवसर प्राप्त भएको थियो । तर त्यस मतको आधारमा प्रधानमन्त्री बनेका कमरेड केपी ओलीले जनताको अपेक्षा अनुसार कुनै पनि काम गर्नुभएन । उहाँ पार्टी एकता गर्दा तय गरिएका नीति र विधि अनुसार पनि चल्नुभएन ।

हामीले महाधिवेशनको दिशानिर्देश अनुसार पार्टी चलाउन र पार्टी नीति अनुसार सरकार सञ्चालन गर्न बारम्बार आग्रह गर्दा नसुनेर उल्टो तरिकाले चल्न थाल्नुभयो। यहाँसम्म कि आफ्नो प्रधानमन्त्री पद गुम्ने जस्तो भएपछि उहाँले घोर असंवैधानिक ढङ्गले २०७७ पौष ५ गतेका दिन जनताले ५ बर्षका निम्ति निर्वाचित गरेको प्रतिनिधिसभालाई नैबिघटन गरिदिनुभयो। शक्तिशाली नेकपाको अध्यक्ष र झण्डै दुई तिहाई सांसदको समर्थन प्राप्त प्रधानमन्त्रीको हैसियत दुरूपयोग गर्दै प्रतिनिधि सभा विघटन गरिएको दिन नेपालको इतिहासमा एउटा कालो दिनको रूपमा रहनेछ ।’ सर्कुलरमा भनिएको छ । 

सो पक्षले कार्यकर्तालाई राष्ट्रिय भेलाको निर्णयअनुसार परिचालित हुन निर्देशनसमेत दिएको छ । ‘यस्तो विषम परिस्थितिमा कसरी अघि बढ्ने भन्ने सम्बन्धमा छलफल गरी एउटा साझा निष्कर्षमा पुग्न हामीले २०७७ चैत ४ र ५ गते राजधानीमा राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गर्‍यौं । अत्यन्त उत्साहजनक एवम् भव्य रूपमा सम्पन्न उक्त भेलाकानिणर्यहरू, त्यसअघि र पछि भएका स्थायी कमिटी तथा केन्द्रीय कमिटीका निणर्यहरू समेत मातहतकमिटीहरूमा प्रेषित गर्न यो सर्कुलर जारी गरिएको छ । अब सम्पूर्ण पार्टीपंक्ति यसै अनुसार परिचालित  हुन निर्देशित गरिन्छ, ’ सर्कुलरमा भनिएको छ । 

ओली आफ्नो गल्ती र दम्भ सच्याउन तयार नभएको सर्कुलरमा उल्लेख छ । सर्कुलरमा भनिएको छ, ‘कमरेड केपी ओलीले यस किसिमको बल मिच्याँई र मनमौजी ढङ्गले गरेका सम्पूर्ण निर्णयहरू अवैधानिक भएको र त्यसलाई सच्याउँदै २०७५ जेष्ठ २ गतेको अवस्थामा पार्टीलाई पुर्याउन उहाँसँग दबावमूलक ढङ्गले कुरा गर्न हामी केन्द्रीय कार्यालय धुम्बाराही पुग्यौं तर कमरेड ओलीमा यति धेरै दम्भ र घमण्ड देखियो की उहाँ कुनै कुरा पनि सच्याउन तयार हुनुभएन र आफ्नो विखण्डकारी अडानमै रहनुभयो । पार्टीमा गम्भीर संकट उत्पन्न भयो । पार्टीको नवौं महाधिवेशन र त्यस पश्चात हाम्रा साथमा रहेका सम्पूर्ण नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुकहरूमा विकसित हुन सक्ने निरासा, हतासा, अकर्तव्यमण्डता, वितृष्णा र पलायनतालाई रोक्न, नयाँ उर्जा, उत्साह, संकल्प, आत्मविश्वास र कृयाशीलतालाई अगाडी बढाउन अत्यावश्यक देखियो ।’