काठमाडौं - सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीको लम्कीचुहा नगरपालिका-१ की ६५ वर्षीया कोरोना संक्रमित वृद्धा निको भएर घर फर्किएकी छन् ।

लगातार दुई पटकको कोरोना परीक्षणमा रिपोर्ट ‘नेगेटिभ’ आएपछि उनलाई बिहीबार डिस्चार्ज गरिएको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताए । वीरगञ्जबाट फर्किएकी उनमा चैत २२ गते कोरोना संक्रमण रहेको पुष्टि भएको थियो ।

लम्कीचुहा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएकी उनको र्‍यापिड टेस्टमा कोरोना नेगेटिभ देखिए पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

योसँगै सुदूरपश्चिम प्रदेशमा चारजना कोरोनालाई जितेर घर फर्किएका छन् भने नेपालमा निको भएर घर फर्किनेको संख्या १० पुगेको छ । अब धनगढी उपमहानगरपालिका- ५ की ३४ वर्षीया महिलामात्रै सेती अस्पतालको आइसोलेसनमा उपचाररत छिन्।

आज मात्रै सनसिटी अपार्टमेन्टमा बस्ने दुई जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।