नेपाली आरोही निर्मल पुर्जाले राखे विश्व कीर्तिमान
काठमाडौं - नेपाली आरोही निर्मल पुर्जाले सात महिनामा ८ हजार मिटरभन्दा अग्ला सबै हिमाल चढेर नयाँ विश्व कीर्तिमान बनाएका छन् ।
पूर्व गोर्खा सैनिकसमेत रहेका ३६ वर्षीय पुर्जाले मंगलबार बिहान चीनको शीशापाङ्मा हिमालको सफल आरोहणसहित यो नयाँ कीर्तिमान राखेका हुन् । यससँगै उनले सात महिनाको छोटो अवधिमा ८ हजार मिटरभन्दा अग्ला १४ हिमालको आरोहण गरेका हुन् ।
यसअघि यो कीर्तिमान पोल्याण्डका आरोही जेर्जी कुकुज्जाको नाममा थियो । उनले झण्डै ८ वर्ष लगाएर सन् १९८७ मा यो कीर्तिमान कायम गरेका थिए ।
पूर्जाले ‘प्रोजेक्ट पोसिबल’ नाम दिएर गएको अप्रिलबाट आफ्नो यात्रा सुरु गरेका थिए । ब्रिटिस सेनामा आवद्ध पुर्जालाई सन् २०१८ मा बेलायती महारानी एलिजाबेथले अर्डर अफ् द ब्रिटिस एम्पायर(एमबीई)अवार्ड पनि प्रदान गरेकी थिइन्
पुर्जाले कुन हिमाल कहिले चढे ?
१. अन्नपूर्ण, नेपाल, २३ अप्रिल
२. धौलागिरी, नेपाल, १२ मे
३. कञ्चनजंघा, नेपाल, १५ मे
४. सगरमाथा, नेपाल, २० मे
५. लोत्से, नेपाल, २२ मे
६. मकालु, नेपाल, २४ मे
७.नन्गा पर्वत, पाकिस्तान, ३ जुलाई
८. गशरब्रुम १, पाकिस्तान, १५ जुलाई
९. गशरब्रुम २, पाकिस्तान, १८ जुलाई
१०. केटू, पाकिस्तान, २४ जुलाई
११. ब्रोड पिक, २६ जुलाई
१२. चो ओयू, चीन, २३ सेप्टेम्बर
१३. मनास्लु, नेपाल, २७ सेप्टेम्बर
१४. शिशापाङ्मा, चीन, २९ अक्टोबर
फेसबुक पेज Like गर्नुहोस