काठमाडौं - लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका प्रमुख राजमार्गहरू अवरुद्ध भएका छन्।

नेपाल प्रहरी र सडक विभागको पछिल्लो विवरणअनुसार पाँच प्रदेशका दर्जनौँ सडक खण्डमा यातायात सेवा प्रभावित हुँदा यात्रुहरू समस्यामा परेका छन्।

कोशी प्रदेशमा भोजपुरस्थित मध्य पहाडी लोकमार्ग बाढीका कारण एकतर्फी सञ्चालनमा रहेको छ। यस्तै, इलामको मेची राजमार्ग र खोटाङको दिक्तेल–रुपाकोट खण्डअन्तर्गत मध्य पहाडी लोकमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्। इलाममा भने वैकल्पिक सडकमार्फत सवारी सञ्चालन भइरहेको छ।

बागमती प्रदेशमा बाढी र पहिरोको जोखिम बढेपछि केही राजमार्गमा समय तोकेर मात्र सवारी सञ्चालन गर्न दिइएको छ। बिपी राजमार्ग (काभ्रे खण्ड) मा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी आवागमन बन्द गरिएको छ भने कान्ति लोकपथ मा बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।

त्यसैगरी, सिन्धुपाल्चोकको अरनिको राजमार्ग अन्तर्गत जिरोकिलो र कोदारी क्षेत्रमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। दोलखाको लामासाँघु–रामेछाप सडक पनि बाढीका कारण पूर्ण रूपमा बन्द रहेको छ।

गण्डकी प्रदेशमा पहिरोले यातायात सञ्जालमा ठूलो असर पुर्‍याएको छ। बागलुङको कालीगण्डकी करिडोर, लमजुङको बेंसीसहर–मनाङ सडक र म्याग्दीको बेनी–जोमसोम सडक पूर्ण रूपमा अवरुद्ध हुँदा यात्रु र स्थानीय बासिन्दा प्रभावित भएका छन्।

कर्णाली प्रदेशको रुकुम पश्चिमस्थित भेरी करिडोर (जाजरकोट–डोल्पा खण्ड) बाढीका कारण पूर्ण रूपमा बन्द छ। यस्तै, सुदूरपश्चिम प्रदेशको डडेलधुरास्थित केआई सिंह राजमार्गमा पहिरो खसे पनि हाल एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।