काठमाडौं - छ जनामा कोरोना संक्रमित देखिएपछि काठमाडौंको चन्द्रागिरि नगरपालिका सिल गरिएको छ । नगरपालिकाले आज शनिबार दिउँसो १२ बजेदेखि जेठ ७ गते बिहान ६ बजेसम्मको लागि सिल गरेको हो ।

नगर प्रमुख घनश्याम गिरीका अनुसार घर बाहिर हिँडडुल गर्न रोक लगाइनुको साथै सबै खालै पसल, सरकारी, सहकारी, प्राइभेट सबै खालका कार्यालय सञ्चालन र विकास निर्माणका काममा पनि रोक लगाइएको छ । यद्यपी औषधि पसल भने खोल्न दिइएको छ ।

अत्यावश्यक कामले हिँडडुल गर्नुपरेमा सामाजिक दूरी कायम गरी माक्स र पञ्जा लगाएर मात्र हिँड्न भनिएको उनले बताए।

चन्द्रागिरी नगरपालिकाको यो निर्णयले काठमाडौँ प्रवेश गर्ने मुख्य नाका थानकोटबाट हुने आवागमन पनि प्रभावित हुने भएको छ। मेयर गिरीले मालबाहक गाडीलाई सडकमा गुड्न दिए पनि रोक्न र सामान ओसारपसार गर्न रोक लगाएको बताए।

चन्द्रागिरी नगरपालिकाभित्र मच्छेगाउँका एक, दहचोकका एक, बलम्बुका एक, सर्तुगलमा एक र दुई जना सशस्त्र प्रहरी बल बलम्बुमा कार्यरत व्यक्तिमा संक्रमण पुष्टि भएको नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिनुभयो । तीमध्ये एकजना अस्पतालमा कार्यरत र अर्को एकजना भक्तपुरको दुवाकोटमा बस्दै आएका थिए ।