कम नम्बर ल्याउने ३४ विद्यार्थीको हात चिर्न लगाइन् शिक्षिकाले
काठमाडौं - परीक्षामा राम्रो अंक ल्याउन नसकेको भन्दै काठमाडौंको जडीबुटीस्थित जागृति एकेडेमीकी शिक्षिकाले ३४ विद्यार्थीको हात ब्लेडले चिर्न लगाएकी छिन् । हात चिरिएकामध्ये २५ विद्यार्थी कक्षा ६ र नौजना कक्षा ७ का छन् ।
१२ वर्षदेखि सोसल साइन्स पढाउँदै आएकी शिक्षिका सीतालक्ष्मी कर्माचार्यले गत साता ६ र ७ कक्षाका विद्यार्थीको कक्षा परीक्षा लिएकी थिइन् । राम्रो नम्बर नल्याउनेको हात चिरिदिने भन्दै उनले परीक्षाकै वेला धम्की दिएकी थिइन् । धम्कीअनुसार नै उनले राम्रो नम्बर ल्याउन नसकेका विद्यार्थीलाई बिहीबार बेन्चमा उभ्याएर सिसाकलम तिखार्ने ब्लेडले हात चिर्न लगाएको पीडित विद्यार्थीले बताए । निर्देशन नमाने आफैँ चिरिदिने धम्की दिएपछि आ–आफ्नो हात काटेको विद्यार्थीले बताए ।
पीडित विद्यार्थीका अनुसार परीक्षाको फुलमाक्स २० निर्धारण गरिएको थियो । पासमाक्स भने ८ तोकिएको थियो । शिक्षिकाले १५ भन्दा कम ल्याउने सबैको हात काट्न लगाएकी हुन् । सबैभन्दा कम नम्बर ल्याउने विद्यार्थीको हात सबैभन्दा बढी काटिएको छ । १५ नम्बर आसपास ल्याउनेको भने कम काटिएको छ ।
जडीबुटी बस्ने कक्षा ६ का विद्यार्थी सविन तामाङले ५ नम्बर मात्रै ल्याएका थिए । उनको देब्रे नाडी २० ठाउँमा चिरिएको छ । आलो घाउ देखाउँदै सविनले नयाँ पत्रिकासँग भने, ‘कम नम्बर ल्याउनेले धेरै काट्न भनेर मिसले भन्नुभएको थियो । नभए आफैँले काटिदिने चेतावनी दिनुभएको थियो । परीक्षामा मेरो कम नम्बर आयो, त्यसैले डराइडराई धेरै काटेँ ।’
नयाँ पत्रिकाबाट
फेसबुक पेज Like गर्नुहोस