काठमाडौं - विश्वभर आतंक फैलाइरहेको कोरोना भाइरसविरुद्ध नेपालमा औषधि बनाइएकाे दाबी गरिएको छ।

हेटौंडामा रहेको वन-विज्ञान अध्ययन संस्थानका प्राध्यापक डा. ललितकुमार दासले विभिन्न जडीबुटीको सम्मिश्रणबाट आफूले कोरोना संक्रमण निको हुने औषधि बनाएको दाबी गरेका हुन्।

भारतको बनारस हिन्दू विश्वविद्यालयबाट फाइटो केमेस्ट्रीमा पीएचडी गरेको डा. दासले आफ्नो प्रयोगशालामा केही एन्टीअक्सिडेन्ट याक्टिभिटी र इन्जिमेटिक याक्सन भएको प्लान्टबाट कोरोनाविरुद्धको औषधि बनाएको जानकारी दिएका छन्।

यसको थप परीक्षण गर्ने स्रोत/साधन हेटौंडाको वन विज्ञान अध्ययन संस्थानमा नरहेकाले सहयोगका लागि डा. दासले सरोकारवालासमक्ष आह्वान गरेका छन्।

उनले तयार पारेका औषधि अवलोकन गर्न अध्ययन संस्थानका प्रमुख विजय यादवलगायत वैज्ञानिक र रसायनविज्ञ बुधबार बिहान प्रयोगशालामा पुगेका छन्।

सरकार, विश्वविद्यालय तथा विश्व स्वास्थ्य संगठनजस्ता अधिकारिक निकायले आफूले बनाएको औषधिको आवश्यक परीक्षण गरे प्रभावकारी हुने उनको दाबी छ।