काभ्रे -  नेपालमै पहिलोपटक कोरोना भाइरस (कोभिड–१९) को कारण ज्यान गुमाएकी महिलाको परिवारको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। अस्पतालले ४८ घण्टापछि आएको जनाएको छ। 

कोरोना संक्रमणका कारण सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा- ९ राम्चेकी महिलाको गत बिहीबार मृत्यु भएको थियो। मृतक महिलाको १३ दिने शिशु र परिवारका अन्य सदस्यको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको हो।

धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक रमेश माकजुले उनीहरुको रिपोर्ट नेगेटिभ आएको पुष्टि गरे। परीक्षणको रिपोर्ट सामान्यतया ४ घण्टामा आउनुपर्ने हो।

तर, उनीहरुको रिपोर्ट भने ४८ घण्टापछि मात्रै आयो। मृतक महिलामा कोरोना संक्रमण पुष्टि भएपछि शिशुसहित मृतकको श्रीमान, माइतीतर्फको आमा र बहिनीको पनि नमुना संकलन भएको थियो। शिशुलाई ल्याक्टोजिन खुवाएर राखिएको छ।