काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आज (मंगलबार) १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी खेलाडी तथा प्रशिक्षकलाई विशेष सम्बोधन गर्दैछन् ।

दुई दशकपछि नेपालमा हुन लागेको सागमा सहभागी खेलाडी तथा प्रशिक्षकको मनोबल बढाउने ध्येयका साथ प्रधानमन्त्री ओलीले मंगलबार बिहान ११ बजे प्रज्ञा भवनमा हुने कार्यक्रममा सम्बोधन गर्ने भएका हुन् ।

‘१३ औँ सागलाई ऐतिहासिक बनाउनका लागि प्रधानमन्त्रीले मंगलबार सम्बोधन गर्दै हुनुहुन्छ,’ राष्ट्रि खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवालले भने, ‘सो अवसरमा प्रोत्साहनस्वरुप स्पेसल प्याकेज घोषणा हुनेछ ।’

यही मंसिर १५ गतेबाट नेपालमा १३ औँ साग खेलकुद प्रतियोगिता हुँदैछ । प्रतियोगिताअन्तर्गत विभिन्न खेलहरू काठमाडौंसहित पोखरा र जनकपुरमा हुँदैछन् ।

मंगलबार नै सागमा सहभागी हुने विदेशी खेलाडी तथा पदाधिकारीलाई पाँच लाखको दुर्घटना बिमा हुने भएको छ ।सोही कार्यक्रमका अवसरमा बंगलादेशमा भएको एभीसी एसियन सिनियर सेन्ट्रल जोन वुमन्स भलिबल च्याम्पियनसिप विजेता राष्ट्रिय महिला भलिबल खेलाडीहरूलाई प्रधानमन्त्री ओलीले पुरस्कृत गर्ने भएका छन् ।